नेप्से ९२.४२ अंकले बढ्यो, बनायो ऐतिहासिक रेकर्ड
फागुन ३, काठमाडौँ –साताको दोस्रो दिन सोमवार शेयर बजार परिसूचक नेप्से ९२.४२ अंकले बढेको छ । परिसूचक ९२.४२ अंकले बढ्दा शेयर बजार २५८५.०१ बिन्दुमा पुगेको छ ।
शेयर बजारमा यो हालसम्मकै ऐतिहासिक उचाइ हो । यसअघि गत सोमबार २५५६ अंकको रेकर्ड बनाएको थियो। यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। १० अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकममा भने यसअघि नै साढे १० अर्बको रेकर्ड बनेको छ।
यस दिन सबै समूहमा हरियाली छाएको छ । बैंकिङ ५७, ब्यापार ७१, विकास बैंक ४९, होटल २४, जलविद्युत ६४, फाइनान्स ३४, निर्जीवन बीमा ४४७, उत्पादन १५९, अन्य ६२, माइक्रोफाइनान्स ३७० र जीवन बीमा समूह ६९७ अंकले बढेका छन्। यस दिन धेरै कमाउनेमा लघुवित्त कम्पनीका लगानीकर्ता अगाडि रहे। यस दिन ११ कम्पनीको मूल्य ठीक १० प्रतिशतले बढेको छ।
वाणिज्य बैंकहरुमा नविल र ग्लोबल आइएमई बैंकको मूल्य सबैभन्दा धेरै क्रमशः ८.१ र ७.९ प्रतिशतले बढेको छ। निर्धन उत्थान लघुवित्तको ७० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। डिप्रोक्स लघुवित्त, ग्लोबल आइएमई बैंक र एनआइसी एसिया बैंक पनि कारोबारका आधारमा क्रमश अगाडि रहेका छन् ।
























