आजबाट मकवानपुरको सबै स्थानीय तहमा कोभिशिल्डको दोस्रो डोज दिइने

बैशाख ७, हेटौंडा । कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत पहिलो डोज लगाएकालाई आज बैशाख ७ गतेदेखि दोस्रो डोज दिइने भएको छ ।

मकवानपुरमा पनि दोस्रो डोज दिने तयारी पुरा भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी ठाकुर पौडेलले जानकारी दिए । उनका अनुसार आज दोस्रो डोज दिने कार्यक्रममा पहिलो चरणमा कोभिशिल्ड खोप लगाएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार,कर्मचारी, सार्वजनिक संस्थान र बैंक तथा वित्तिय संस्थानका कर्मचारीलाई खोप लगाईनेछ ।

सूचना अधिकारी पौडेलका अनुसार हेटौंडा उपमहानगरपालिकाका भित्रकालाई हेटौंडा–१० को गोरक्षश्वर मन्दिर परिसरबाट खोप लगाईनेछ भने अन्य ९ वटा पालिकाभित्रकालाई पालिका स्तरमै खोप लगाउने तयारी भएको छ ।

पहिलो डोज लगाएकाहरूलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोजको खोप दिइने बताईएको छ । सरकारले माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सुरु गरिएको थियो । मकवानपुरमा पहिलो चरणमा ४ हजार ९ सय ३८ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए । भारतमा उत्पादन गरिएको कोभिसिल्ड खोप दिइनेछ ।

पछिल्लो २४ घण्टामा मकवानपुरमा थप २१ जनामा कोरोना पुष्टि भएको छ । यो संगै जिल्लामा हालसम्म ३ हजार ९ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोमा ३ हजार ८ सय ६७ जना संक्रमण मुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा हालसम्म कोरोनाको कारण ३२ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*