मन्त्रिपरिषद् बैठक बस्दै –कोरोना रोकथामबारे निर्णयको तयारी
काठमाण्डौ, बैशाख १३- मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका पाँच बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि आजको बैठक केन्द्रीत हुने र यसबारे केही निर्णय गर्नसक्ने सम्भावना रहेको छ ।
हिजो बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले कम्तीमा तीन हप्ता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो ।
यस्तै पहाडी जिल्लामा दुई सय र सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा ती क्षेत्रमा निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।























