१५ दिनमा कोभिडबाट १५३ जनाको मृत्यु

बैशाख १६,काठमाडौं । नेपालमा अहिले कोभिड–१९ संक्रमणको दर विश्वकै उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दोस्रो लहरको संक्रमणसँगै मृत्यु हुनेको दर पहिलेको भन्दा उच्च देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले नेपालमा कूल संक्रमितमध्ये १.१ प्रतिशत रहेको छ अर्थात् कोभिड–१९ का कारण प्रति १० लाखमध्ये ११० जनाले ज्यान गुमाइरहेका छन् ।

अमेरिकाको इस्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनले यही दरमा संक्रमण बढ्दै गए नेपालमा दैनिक १५० जनाको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको छ ।

उच्च मृत्युको दोस्रो रेकर्ड, १५ दिनमा १५३ जनाले ज्यान गुमाए
वैसाख १ गतेदेखि १५ गतेसम्म नेपालमा कोभिड–१९ का कारण १५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । वैशाख १२ गते भएको २८ जनाको मृत्यु कोभिड अवधीमा उच्च मृत्यु भएको दोस्रो रेकर्ड हो ।

यसअघि ०७७ कात्तिक १९ गते नेपालमा कोरोना महामारी अवधिकै सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको थियो भने कात्तिक २६ गते तेस्रो बढी संख्या अर्थात २६ संक्रमितको मृत्यु भएको थियो ।

असोज पहिलो सातादेखि मंसिर अन्तिमसम्म नेपालमा कोभिड–१९ संक्रमण र मृत्युदर उच्च बिन्दुमा पुगेको थियो । यो तीन महिनाको अवधीमा नेपालमा कोभिड–१९ का कारण सबैभन्दा धेरै अर्थात् १ हजार ३४७ जनाले ज्यान गुमाए र नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७३० पुग्यो ।

त्यसयता क्रमशः ओरालो लागेको मृत्युको संख्या पुस १५ गते शून्य रह्यो, जुन ५ महिनायताकै पहिलो रेकर्ड थियो । त्यसयता मृतकको संख्या २ देखि ३ को हाराहारीमा रह्यो । ०७७ माघ १५ देखि ३० गतेसम्म ४ पटक अर्थात् माघ महिनामा ४ दिन शून्य मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथांक छ । तर, चैतयता नेपालमा संक्रमित र मृतक दुवैको संख्या उकालो लागेको छ ।

वैशाखको आधासम्म आइपुग्दा नेपालमा दैनिक औसत १० जनाको कोभिड–१९ का कारण मृत्यु भएको तथ्यांक छ । चैत ३१ गते ३ हजार ५८ रहेको कूल मृतकको संख्या वैशाख १५ गते आइपुग्दा ३ हजार २११ पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*