पूर्वरानी कोमलको स्वास्थ्य स्थितिमा क्रमिक सुधार
बैशाख १९, काठमाडौँ-कोरोना संक्रमणका कारण अस्वस्थ भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएको अस्पताल स्रोतले जनाएको छ।
अघिल्लो वर्ष कोरोना महामारीका कारण ५० औँ वैवाहिक वर्षगाँठ नमनाएका पूर्वराजारानीको ५१ औँ वैवाहिक वर्षगाँठ आइतबार नै परेको छ। अस्पतालमै छँदा वैवाहिक वर्षगाँठ परेकाले कुनै पनि औपचारिक वा अनौपचारिक उत्सव हुन सकेन। अस्पतालमा उपचारत पूर्वरानी शाहको स्वास्थ्य सामान्यतर्फ उन्मुख हुँदै गएको उनको उपचारमा संलग्न एक चिकित्सकले बताए।
स्वास्थ्य स्थिति असामान्य बनेपछि कोमललाई आइसियुमा राखेर अक्सिजन दिई उपचार हुँदै आएको थियो। उनको उपचारमा प्लाज्मा थेरापीसमेत प्रयोग भएको थियो। पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि कोरोना संक्रमण छ। उनी पनि नर्भिक अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
पूर्वराजारानीकी नातिनी कृतिकाले आइतबार सामाजिक सञ्जालमा उनीहरुलाई ५१ औँ जन्मदिनको अवसरमा बधाई र शुभकामना दिएकी छिन्।


























