सगरमाथा आरोहणका लागि गएका दुई आरोही घाइते
बैशख १९, काठमाडौँ – सगरमाथा आरोहणका लागि गएका दुई आरोही आइसफल (हिउँको ढिक्का खस्दा) घाइते भएका छन्।
आइतबार बिहान आरोहणका क्रममा क्याम्प १ तर्फ जाँदै गर्दा एक विदेशी र एक नेपाली शेर्पा आरोही घाइते भएका हुन्। उनीहरुलाई त्यहाँ रहेको टोलीले लगत्तै उद्धार गरेको सेभेन समिट ट्रेकका प्रमुख मिग्मा शेर्पाले जानकारी दिएका छन्।
घाइते भएका आरोहीको गोडामा चोट लागेको छ। उनीहरुलाई हेली एभ्रेस्ट मार्फत उद्धार गरि काठमाडौँ ल्याइएको हो। हाल उनीहरुको सिविक हस्पिटलमा उपचार भइरहेको छ।
टासी लाक्पा शेर्पा, दावा फिन्जु शेर्पा र क्याप्टेन सोवित गौचनले घाइते आरोहीको उद्धार गरेका हुन्। अहिले सगरमाथासहितका हिमालमा वसन्त ऋतुको आरोहण चलिरहेको छ।
पर्यटन विभागले हालसम्म सगरमाथा आरोहणका लागि ४०८ जनालाई अनुमति दिएको छ। आरोहणका लागि बाटो बनाउने काम सकिएर अब आरोहीहरु माथि लाग्न लागेका छन्।


























