बाँकेमा रातभरमा १० जना संक्रमितको मृत्यु

बैशाख २३, नेपालगञ्ज – बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले दिएको जानकारी अनुसार, बुधबार साँझ सवा ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्ममा १० जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नौ जना बाँके र एकजना जाजरकोट जिल्लाका रहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो । वैशाख १७ गते पीसीआर गरेर त्यही दिन भर्ना भएका उनको बुधबार बेलुका सवा ६ बजे मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–१० का ७८ वर्षीया महिलाको बेलुका साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख १७ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो । यस्तै नेपालगञ्ज उपमहानगरपालिका–१ का ५८ वर्षीय पुरुषको राति १० बजे मृत्यु भएको छ । वैशाख २० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

राति १० बजेर २० मिनेटमा नेपालगञ्ज उपमहानगरपालिका–१० का २७ वर्षीय युवाको मृत्यु भयो । वैशाख १९ गते भर्ना गरिएका उनको २० गते पीसीआर गरिएको थियो । यसैगरि भेरी नगरपालिका जाजरकोटकी ४३ वर्षीया महिलाको राति ९ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख १९ गते पीसीआर गरिएकी उनलाई २२ गते भर्ना गरिएको थियो ।

त्यसैगरि नेपालगञ्ज उपमहानगरपालिका–४ का ५५ वर्षीय पुरुषको राति साढे १२ बजे मृत्यु भएको छ । वैशाख १८ गते पीसीआर गरिएका उनलाई १९ गते भेरीमा भर्ना गरिएको थियो । राति १ बजेर ४० मिनेटमा नेपालगञ्ज उपमहानगरपालिका–१० का ७८ वर्षीय पुरुषको मृत्यु भयो । वैशाख २० गते पीसीआर गरिएका उनलाई २२ गते भर्ना गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख १८ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो । यस्तै कोहलपुर नगरपालिका–५ का ३४ वर्षीय पुरुषको बुधबार राति ९ बजेर ४० मिनेट जाँदा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख १३ गते पीसीआर गरिएका उनलाई १४ गते भर्ना गरिएको थियो ।

यस्तै बाँकेको नरैनापुर गाउँपालिका–१ का ५६ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार बिहान ७ बजे मृत्यु भएको छ । वैशाख २० गते प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणमा एन्टिजेट परीक्षण गरिएका उनलाई २१ गते भेरीमा भर्ना गरिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ५७ जना पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा एक सय २७ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*