विहान १० बजेसम्म काठमाडौं उपत्यकामा पसल खोल्न पाइने
२८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा अब विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।‘आम नागरिकले भौतिक दूरी काम गरेर किनमेल गर्ने गरी विहान १० बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने ।
यसअघि वैशाख २२ गतेदेखि २९ गतेसम्म विहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञाको आदेश जारी गरिएको थियो । मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेकोछ ।
निषेधाज्ञाको समयमा पार्टी प्यालेसमा विवाह, ब्रतबन्धजस्ता कार्य गर्न पनि नपाइने भएको छ । अब यस्ता कार्य थोरै व्यक्तिको सहभागितामा घरमै भेला भएर गर्न पराजुलीले आग्रह गरेका छन् ।


























