डब्लूएचओका अनुसार पछिल्लो हप्ता विश्वभर कोरोना संक्रमण र मृत्युदरमा कमी
जेठ १२, काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)का अनुसार पछिल्लो साता विश्वभर कोरोना भाइरसको संक्रमण र मृत्युमा कमी देखिएको छ । पछिल्लो साता विश्वभर करिब ४१ लाखमा संक्रमण पुष्टि भएको छ भने ८४ हजारको मृत्यु भएको छ ।
पछिल्लो साता त्यसअघिको सातामा भन्दा संक्रमणमा १४ प्रतिशत र मृत्युमा २ प्रतिशतले कमी आएको डब्लूएचओको साप्ताहिक रिपोर्टमा उल्लेख छ ।डब्लूएचओको तथ्यांकअनुसार युरोपेली क्षेत्रमा नयाँ केस र मृत्युमा सबैभन्दा बढी कमी आएको देखिएको छ । त्यस्तै दक्षिण– पूर्वी एसियाली मुलुकमा पनि संक्रमणमा कमी आएकाले केही राहत महसुस गरिएको छ ।
अमेरिकी, भूमध्यसागरीय तथा पश्चिमी प्रशान्त क्षेत्रको अवस्था भने अघिल्लो साताकै जस्तो रहेको छ । पछिल्लो ४ हप्तामा विश्वका केही मुलुकको अवस्थामा सुधार आएको जस्तो देखिए पनि मृत्यु हुनेको संख्यामा भने कमी आउन सकेको छैन भारतमा पछिल्लो पटक दैनिक संक्रमित हुनेको संख्यामा उल्लेख्य कमी आएको छ ।
कुनै बेला दैनिक ४ लाखभन्दा बढीमा संक्रमित पुष्टि भइरहेको भारतमा अहिले करिब २ लाखको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ । भारतमा मंगलबार ४० दिनपछि पहिलो पटक २ लाखभन्दा कममा कोरोना पुष्टि भएको थियो ।


























