गणतन्त्र दिवसको अवसरमा ७ जना कैदी रिहा
जेठ १५, कपिलवस्तु । गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका ७ जना कैदी शनिवार रिहा भएका छन् ।
कपिलवस्तुका ३ जना, रुपन्देहीका ३ जना र सुर्खेतका एक जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम आज कैदमुक्त गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर राकेश पाण्डेयले बताए।
कैदमुक्त भएका कपिलबस्तुका ३ जनामध्ये २ कर्तव्य ज्यान, १ जना हातहतियार तथा खरखजाना मुद्धामा, रुपन्देहीका ३ जनामध्ये २ जना सवारी ज्यान, १ जना कर्तव्य ज्यान मुद्धामा तथा सुर्खेतका १ जना कर्तव्य ज्यान मुद्धामा कैद जीवन बिताइरहेका थिए।
मुद्धा नकारात्मक सूचीमा नपरेका, असल चालचलन भएका र ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेका आधारमा उनीहरुको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो। सोही आधारमा उनीहरुको कैद मिनाहा गरिएको जेलर पाण्डेयले बताए।
कैदमुक्त भएका उनीहरु बाँकी जीवन घर परिवार र समुदायको हितका लागि बिताउने प्रतिबद्धता गर्दै कारागारबाट बिदा भएका जेलर पाण्डेयले जानकारी दिए ।
कपिलवस्तु कारागारमा रहेका कुल ४ सय २४ कैदी बन्दीमध्ये आज ७ जना कैद मुक्त भए भने बाँकी ४ सय १७ जना कैदी बन्दी कारागारमा रहेका छन् ।


























