आगामी वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई लाख रोजगारी सिर्जना गरिने
हेटौंडा, जेठ १५ – प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी वर्ष दुई लाख रोजगरी सिर्जना गरिने भएको छ । कार्यक्रमका लागि १२ अर्ब विनियोजन गरिएको छ । वैदेशिक रोजगारीबाट फर्केकालाई सीपमुलक तालिम दिइने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले तालिमका लागि ४० करोड विनियोजन गरिएको जानकारी दिए ।यसबाट एक लाख रोजगारी सिर्जना हुनेछ । निजी क्षेत्रको सहकार्यमा उद्योगभित्र तीन महिनाको तालिम दिइनेछ । तालिमका लागि अनुदान दिइनेछ । यसबाट थप २५ हजार रोजगारी सिर्जना हुने अर्थमन्त्रीले बताए ।
यस्तै पाँच प्रतिशत ब्याजदरमा प्रदान गर्दै आएको पुनर्कर्जाको सुविधाको निरन्तरता दिइएको छ । यस्तो कर्जा रकमको प्रयोग गर्न सकिने सीमा र क्षेत्र वृद्धि गरिने भएको छ । विभिन्न शीर्षकमा दिइएको सहुलियतपूर्ण कर्जाको निरन्तरता दिइने । यसका लागि १३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा लाग्न प्रोत्साहित गर्ने उद्देश्यले परियोजनाको धितोमा एक प्रतिशत ब्याजमा २५ लाखसम्म बिउ पुँजी कर्जा प्रदान गर्ने अर्थमन्त्रीले बताएका छन् ।स्नातक वा सोभन्दा माथिको योग्यता भएकाले शैक्षिक प्रमाणपत्रको धितोमा अधिकतम पाँच प्रतिशत ब्याजदरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने भएका छन् ।


























