कोरोनाबारे जथाभावी नबोलौँ – स्वास्थ्य मन्त्रालय
काठमाडौं, जेठ १८- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका विषयमा असम्बन्धित निकाय तथा व्यक्तिहरूले जथाभावी बोल्ने कार्य रोक्न लगाउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले कोरोनाको विषयमा असम्बन्धित निकाय तथा व्यक्तिले जवाभावी बोल्दा भ्रम सिर्जना गरेको बताएका छन्। १७ जेठमा बसेको स्वास्थ्य मन्त्रालयको बैठकले असम्बन्धित व्यक्ति तथा निकायलाई कोरोनाबारे जथाभावी बोल्ने कार्य रोक्न लगाउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता पौडेलले जनाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘जनस्वास्थ्यका विषयमा सम्बन्धित निकायहरूले आमसञ्चार माध्यममा बोल्ने वा टिप्पणी गर्ने गरिएको र त्यसले धेरैलाई द्विविधा बनाउने र भ्रमित बनाउने गरेको छ।’ स्वास्थ्य मन्त्रालयले ‘कोभिड महामारी सहित समग्र जनस्वास्थ्यका विषयमा विभागीय मन्त्रीहरू वा मन्त्रालयले तोकेका पदाधिकारीहरू र निकाय बाहेकले आधिकारिक जानकारी वा पुष्ट्याइँ गर्ने कार्यलाई रोकिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरी पठाउने’ निर्णय गरेको छ।
त्यहि अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै स्वास्थ्य मन्त्रालयले कोरोना बारे विभागीय मन्त्री वा मन्त्रालयले तोकेका पदाधिकारी र निकाय बाहेकलाई टिकाटिप्पणी नगरिदिन पनि सबैलाई आग्रह गरेको छ।


























