हास्य कलाकार श्रेष्ठको मुटुमा समस्या, गंगालाल अस्पतालमा उपचार हुँदै
जेठ २५, काठमाडौं । हास्य कलाकार मदनकृष्ण श्रेष्ठको मुटुमा समस्या आएपछि सहिद गंगालाल अस्पतालको सघन कक्षमा भर्ना गरिएको छ।
कोरोना जितेर घर फर्किएका उनको पछिल्लो समय मुटुमा समस्या देखिएको हो। उनी आफू पहिलेबाट नै मुटु रोगी भएको कोरोनाबाट घर फर्केपछि सामाजिक सञ्जालमा लेखेका थिए।
८ दिन अघिमात्र घर फर्केका उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कानसमातेर १० पल्ट उठ् बस गरेर ह्वाँ‘ ह्वाँ‘ रुंदै मसंग क्षमा मागेर लुसुक्क भाग्यो‘।’
उनले अघि भनेका थिए, ‘कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेशर, मुटुको समस्या छ, अनि अर्को कन्स्टीपेशनको पनि समस्या छ र यस्लाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला शायद्र।’
नेपाली हास्य क्षेत्रका शिर्ष व्यक्तित्व श्रेष्ठलाई कला र मानवताका संगमको रुपमा प्रशंसकले चिन्दै आएका छन्। माया र सद्भावका खानीका रुपमा पनि कलाकार श्रेष्ठलाई सम्बोधन गरिँदै आइएको छ।


























