मकवानपुरमा एन्टीजेन विधिबाट परीक्षण गर्दा थप ५५ जनामा कोरोना पुष्टि
असार १४, हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा १ सय ६१ जनाको एन्टीजेन परीक्षण गर्दा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ६१ जनामा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरुमा सबैभन्दा बढी थाहा नगरपालिका भित्रका २१ जना रहेका छन् । यसैगरि मनहरी गाउँपालिका भित्रका ११ जना,हेटौंडा उपमहानगरपालिका भित्रका ९ जना,बकैया गाउँपालिका भित्रका ४ जना,बागमती र कैलाश गाउँपालिका भित्रका ३र३ जना रहेका छन् । यसैगरि राक्सिराङ र मकवानपुगढी गाउँपालिका भित्रका २र२ जना रहेका छन् ।
आज २ बजेसम्मको रिपोर्टमा पिसिआर परीक्षणको रिपोर्ट नआएको स्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी एवम् जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले बताए । उनका अनुसार जिल्लामा संक्रमण दर घटेको र पिसिआर परीक्षण पनि घटेको छ । उनले भनेः यसअघि जिल्लामा संक्रमण दर उच्च हुँदा स्वाब परीक्षण गर्ने स्वास्थ्यकर्मीहरुलाई होटलमै राखेर अस्पताल ल्याउने लैजाने गरेका थियौ परीक्षण समयमै हुन्थो ।
अहिले संक्रमण घटे संगै स्वास्थ्यकर्मी घरबाटै अस्पताल आउने गरेका छन् परीक्षण दर पनि घटेको छ । परीक्षण ढिलो हुने हुँदा रिपोर्ट आउन पनि ढिलो हुने हुँदा एन्टीजेन परीक्षणको रिपोर्ट मात्र सार्वजनिक गर्यौ । पिसिआर परीक्षणको रिपोर्ट साँझ सम्म आउँछ ।
मकवानपुरमा हालसम्म १० हजार ९ सय ४१ जनामा कोरोना पुष्टि हुँदा ९ हजार ७ सय ६९ जना कोरोना मुक्त अर्थात कोरोना निको भइसकेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय २७ जनाको ज्यान गएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।


























