मकवानपुरे गायिका चन्द्रादेवी लामाको ‘सम्झेर ल्याउँदा’ सार्वजनिक

मकवानपुर । मकवानपुरे नव गायिका चन्द्रादेवी लामा बलको ‘सम्झेर ल्याउँदा’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोलाई हेटौँडाको हार्दिक होटलमा सोमबार औपचारिका कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो । शिक्षिका समेत रहेकी गायिका लामा सामाजिक सेवामा समेत सक्रिय छिन् ।

म्युजिक भिडियोलाई कार्यक्रमका प्रमुख अतिथि एवम् निषाद संगीत पाठशालाका प्रशिक्षक रमेश तिमल्सिनाले औपचारिक रुपमा सार्वजनिक गरेका थिए । म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै गायिका लामाले गीतमा जीवनका भोगाईहरु समावेश गरिएको बताईन् । अनेकौँ उतारचढाव भएपनि जीवनमा हाँसेर बाँच्नुपर्ने र सबैसँग राम्रो भएर जिउनुपर्ने सन्देश गीतमा समावेश छ । गीतमा गायिका चन्द्रादेवी लामाका बुवा एवम् मकवानपुरे समाजसेवी तथा लेखक देवेन्द्र लामाको शब्द र संगीत रहेको छ । म्युजिक भिडियोमा गायिका लामासहित नारायण प्रसाद गौतम र निवेदिका गौतमले अभिनय गरेका छन् ।

म्युजिक भिडियोलाई मकवानपुरे कलाकार तथा निर्देशक विक्रम लुङ्वाले निर्देशन गरेका छन् । धन पाख्रिनले छायाँकन गरेको म्युजिक भिडियोलाई निर्देशक लुङ्वाले नै सम्पादन गरेका हुन् । म्युजिक भिडियो केही समयपछि नै युट्युबमार्फत पनि सार्वजनिक हुने गायिका लामाले बताईन् । गीतलाई सरगम स्टुडियोमा अर्पण थिङले मिक्सिङ तथा रेकर्डिङ गरेका हुन् । गीतमा आगा लामाले संगीत संयोजन गरेका छन् ।

कार्यक्रममा मकवानपुरे सामाजिक व्यक्तित्वहरु, कलाकार हेमकुमार लामा, कलाकार प्रलय चौलागाई, तामाङ पत्रकार संघ मकवानपुरका कोषाध्यक्ष भुवन घलान लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई संचारकर्मी तथा सामाजिक अभियान्ता रेश्मी कार्कीले संचालन गरेकी थिईन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*