हेटौंडा उपमहानगरभित्र बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने

हेटौंडा । “निःशुल्क रक्त सेवा” कार्यक्रमबाट निःशुल्क रगत उपलब्ध गराउन हेटौंडा उपमहानगरपालिका, नगरकार्यपालिकाको कार्यालय र हेटौंडा १ स्थित नेपाल रेडक्रस सोसाईटी मकवानपुर बीचमा सम्झौता भएको छ । उपमहानगरपालिका भित्र कुनै घटना, परिघटनामा परि उपचारार्थ रगत आवश्यक भएमा निःशुल्क रगत उपलब्ध गराउने बिहीबार सम्झौता भएको हो ।

सम्झौता पत्र अनुसार नेपाल रेडक्रस सोसाईटीले मान्यता प्राप्त अस्पतालमा कार्यरत चिकित्सकको सिफारिसमा उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्ने घाईते वा बिरामीलाई आवश्यक पर्ने मानव रगत निःशुल्क उपलब्ध गराउनु पर्ने उल्लेख गरिएको छ । यस्तै, सेवा संचालन गर्दा लाग्ने खर्चको व्यवस्थापन तथा सम्पूर्ण जिम्मेवारी हेटौंडा उपमहानगपालिकाले लिने भएको छ । २०७९ साल साउन १ गतेबाट सुरु भएको सम्झौता २०८० साल असार ३१ गतेसम्म लागु हुने उल्लेख गरिएको छ । सम्झौता पश्चात् उपमहानगरपालिकाले समय समयमा सेवा संचालनको निरीक्षण गरी कार्य प्रगति प्रतिवेदन दिने तथा काम कारबाहीको सम्बन्धमा कनै समस्या आएमा समाधान गर्न निर्देशन उपलब्ध गराउने छ ।

रगत उपलब्ध गराएबापत हेटौंडा उपमहानगरपालिकाले रेडक्रसलाई प्रति युनिट ८ सय ५० रुपैयाँको दरले प्रगति प्रतिवेदनको आधारमा त्रैमासिक रकम उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताको सम्बन्धमा विवाद आएमा आपसी समझदारीमा समाधान गरिने उल्लेख छ । सम्झौता पत्रमा हेटौंडा उपमहानगरपालिकाको तर्फबाट सामाजिक विकास महाशाखा प्रमुख भीम प्रसाद तिमल्सिना र जनस्वास्थ्य निरीक्षक भोला चौलागाई तथा नेपाल रेडक्रस सोसाईटीको तर्फबाट मन्त्री खेमराज सापकोटा र कार्यालय प्रमुख लक्ष्मण भट्टराईको हस्ताक्षर गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*