मकवानपुरमा ३६ सयमा डेंगु संक्रमण
हेटौंडा । मकवानपुर जिल्लामा डेंगु संक्रमणको संख्या ३ हजार ६ सय ४ जना पुगेको छ । साउन १ गतेदेखि मंगलबारसम्मको तथ्याङ्क हेर्दा मकवानपुरमा २ हजार २१ जना पुरुष र एक हजार ५ सय ८३ जना महिलामा डेंगु संक्रमण देखिएको हो ।
वर्षाका कारण पनि अत्याधिक मात्रामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा देखिएको संक्रमणमा पनि हेटौंडा उपमहानगरपालिकामा ८३ प्रतिशत डेंगु संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । हालसम्म जिल्लामा डेंगु संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । साउनदेखि मंगलबारसम्मको तथ्याङ्कमा हेटौंडा उपमहानगरपालिकामा ३ हजार जनामा डेंगुको संक्रमण देखिएको छ । मंगलबार मात्रै हेटौंडा उपमहानगरपालिकामा २ सय ३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको १० वटा स्थानीय तहमध्य सबैभन्दा थोरै इन्द्रसरोबर गाउँपालिकामा संक्रमण देखिएको छ । इन्द्रसरोबर गाउँपालिकामा हालसम्म जम्मा एक जनामा मात्र डेंगु संक्रमण देखिएको छ । यस्तै, थाहा नगरपालिकामा जम्मा १ सय २८ जनामा डेंगुको संक्रमण देखिएको छ । जसमा पुरुष ८२ जना र महिला ४६ जना रहेका छन् । मकवानपुरगढी गाउँपालिकामा ३४ जना पुरुष र २१ जना महिला गरी ५५ जनामा संक्रमण देखिएको थियो । यस्तै, बागमती गाउँपालिकामा ४ जना पुरुष र २ जना महिला गरी जम्मा ६ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ । त्यसैगरी, कैलाश गाउँपालिकामा ३ जना पुरुष र ३ जना महिला गरी ६ जनामा, मनहरी गाउँपालिकामा १ सय ७५ जना पुरुष र १ सय ४८ जना महिलामा संक्रमण देखिएको छ । मनहरी गाउँपालिकामा हालसम्म जम्मा ३ सय २३ जनामा संक्रमण देखिएको छ । मकवानपुरमा हेटौंडा उपमहानगरपालिकापछि सबैभन्दा धेरै मनहरी गाउँपालिकामा संक्रमण देखिएको छ । भिमफेदी गाउँपालिकामा १३ जना पुरुष र १५ जना महिला गरी २८ जनामा संक्रमण देखिएको छ ।
यस्तै, बकैया गाउँपालिकामा ७ जना पुरुष र १६ जना महिला गरी २३ जनामा डेंगु संक्रमण देखिएको छ । राक्सीराङ गाउँपालिकामा ६ जना पुरुष र ३ जना महिला गरी ९ जनामा संक्रमण देखिएको कार्यालयले उल्लेख गरेको छ । यस्तै, ठेगाना नखुलेको १० जना महिला र १० जना पुरुषको हेटौंडा अस्पतालमा परिक्षण गरी डेंगु संक्रमण देखिएको थियो । अन्य जिल्लाका २ जना पुरुष र ३ जना महिला गरी ५ जनामा संक्रमण देखिएको हो । यसरी तथ्याङ्क हेर्दा महिलाको तुलनामा पुरुषमा संक्रमण देखिने संख्या धेरै छ । आगामी एक महिना डेंगुको संक्रमण फैलने खतरा कायमै रहेकोले थप सजगता अपनाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
























