हेटौंडामा डेङ्गु संक्रमित ३६२७ जना पुग्यो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेङ्गु संक्रमित ३ हजार ६ सय २७ जना पुगेको छ । वर्षायाम सुरु भएदेखि डेङ्गुका बिरामी दिनहुँजसो देखा परेका छन् । मकवानपुरको हेटौंडा अस्पताल, निजी अस्पतालहरु, चितवनका अस्पतालमा समेत हेटैंडा उपमहानगरपालिका क्षेत्रका बिरामी उपचार गरिरहेका छन् ।

यसको नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाले खास चासो दिएको छैन । हरेक कार्यपालिकाको बैठकमा डेङ्गुका बिरामीको उपचारका लागि सहयोग गर्ने वा यसको नियन्त्रणका लागि गर्ने प्रयासका बिषयमा खासै ठोस निर्णय हुन सकेको छैन । तर, व्यक्तिका स्वार्थ केन्द्रीत धेरै निर्णयहरु भएका छन् ।

डेङ्गु नियन्त्रण गर्ने भनेर हेटौंडाका वडा वडामा स्प्रे अभियान, जनचेतना जगाउने, सरसफाइ अभियान सञ्चालन गर्ने, किट उपलब्ध गराउने लगायतका कामहरु गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो । डेङ्गु नियन्त्रण गर्नका लागि स्थानीय सरकारले लागेसम्मको उपाय गरेर नियन्त्रणको अभियानमा लागेको उहाँले बताउनुभयो ।

लामखुट्टेको टोकाइबाट बच्ने उपायनै सबै भन्दा उत्तम रहेको र जनचेतना जगाउने कामलाई तिब्रता दिइएको उहाँले बताउनुभयो । उपमहानगरपालिकाले स्प्रे अभियान सञ्चालन गरेर खर्च पनि धेरै गर्दै आएको छ । तर, स्प्रे अभियानबाट लामखुट्टे र यसको लार्भा नष्ट हुने कुरामा स्वास्थ्यकर्मीहरुले संका व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*