बकैया गाउँपालिकामा एम्बुलेन्स सेवा सुरु

हेटौंडा –  बकैया गाउँपालिका वडा नम्बर ९ शिखरपुर स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । बागमती प्रदेश सरकार र बकैया गाउँपालिकाको सहकार्यमा एम्बुलेन्स खरिद गरी बिहीबारबाट सेवा आरम्भ गरेको हो ।

बागमती प्रदेश सरकारको १५ लाख रुपैयाँ र बकैया गाउँपालिकाको ७ लाख रुपैयाँ गरी २२ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको बकैया गाउँपालिकाका स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार शिखरपुर स्वास्थ्य चौकीमा दैनिक ५० जना बिरामीले स्वास्थ्य परिक्षण गराउछन् । एम्बुलेन्स खरिदमा संघीय सरकारबाट भन्सार छुट भएको उहाँले बताउनुभयो । सबैको सहयोग र सहकार्यमा एम्बुलेन्स सेवा सुचारु भएको भन्दै उहाँले ग्रामीण क्षेत्रको स्वास्थ्य क्षेत्रमा एम्बुलेन्स सेवाले सहयोग गर्ने धारणा राख्नुभयो । शिखरपुरमा एम्बुलेन्स सेवा संचालन भएसँगै बकैया गाउँपालिकामा ४ वटा एम्बुलेन्स संचालनमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामी भएपछि पनि स्थानीयहरु घरमै बस्ने गरेका थिए । स्वास्थ्य जटिल बनेपछि मात्रै अस्पताल जाने परिवार धेरै छन् । समयमा उपचार नपाउँदा धेरैको ज्यान नै जोखिममा पर्ने गरेको थियो ।”

बकैया गाउँपालिकामा घरमै सुत्केरी गराउने महिलाहरुको संख्या पनि अत्याधिक भएको भन्दै उहाँले एम्बुलेन्स सुचारु भएपछि ८० प्रतिशत गर्भवति महिला स्वास्थ्य संस्थामा सुत्केरी भएको जानकारी गराउनुभयो । गाउँपालिकामा एम्बुलेन्स सेवा संचालनले घरमा सुत्केरी हुने महिलाको संख्या घटाएको उहाँले बताउनुभयो । यसबाट सुत्केरी आमा र बच्चाको ज्यान जोखिममा पर्नबाट रोकेको उहाँको धारणा छ । अझै पनि २० प्रतिशत गर्भवति महिला घरमा नै सुत्केरी हुने गरेको भन्दै उहाँले यो संख्या घटाउन गाउँपालिकाले काम गरिरहेको जानकारी गराउनुभयो । शिक्षा र जनचेतनाका कारण केही हदसम्म स्वास्थ्य संस्था जानेको संख्यामा वृद्धि भएको उहाँले बताउनुभयो ।

शिखरपुर स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सुरु भएपछि नजिकका वडाहरु ३, ८, ९, १०, ११, १२ ले पनि सेवा पाउने उहाँले जानकारी दिनुभयो । शिखरपुरमा एम्बुलेन्स सेवा संचालन नहुँदा अटो अथवा भाडाको गाडीमा बिरामी अस्पतालसम्म पुर्याउने गरेको भन्दै उहाँले आगामी दिनमा बिरामीलाई अस्पताल लैजान सजिलो हुने बताउनुभयो ।

शिखरपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ९ का अध्यक्ष टंकध्वज लोप्चनको सभाध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै, कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीको विशेष आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*