प्रदेश प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
हेटौंडा – बागमती प्रदेश प्रहरी कार्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ तथा सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजना तथा कलेज अफ मेडिकल साइन्सेस चितवनको सहकार्यमा स्वास्थ्य शिविर भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नहुँदै बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यले सबै प्रहरीहरुले आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्ने बताउनुभयो । सडक ड्युटीमा खटिने प्रहरीहरु शौचालय नहुँदा बाध्यताले पानी कम खाने र स्वास्थ्यमा समस्या देखिरहेको उहाँको भनाइ छ ।
सरकारले सडक छेउछाउका ठाउँठाउँमा शौचालयको ब्यवस्था गरी सुरक्षामा खटिने सुरक्षाकर्मीलाई सहज वातावरण बताउनुपर्ने बज्राचार्यले बताउनुभयो । उहाँले प्रदेश मातहत पनि अहिलेसम्म प्रहरीको आफ्नै अस्पताल बन्न नसकेको बताउनुभयो । उहाँले प्रहरीका लागि आफ्नै अस्पताल हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहले ड्युटीमा खटिने प्रहरीहरुको स्वास्थ्यमा समस्या नहोस् भनेर सहकार्य गरेर शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले प्रहरी श्रीमती संघले स्वास्थ्य र बालबालिको शिक्षा क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
स्वास्थ्य शिविरमा करिब ३ सय जना प्रहरीहरुले सेवा लिएका छन् । शिविरमा महिला रोगसम्बन्धी, हाडजोर्नी तथा नसासम्बन्धी निःशुल्क सेवा, प्रेसर जाँच लगायतका सेवा दिइएका थिए । शिविरमा चितवन मेडिकल कलेजका वरिष्ठ चिकित्सक डा. सुदीपराज केसीलगायतको टिमले स्वास्थ्य परीक्षण गर्नुभयो ।
प्रहरी नायब महानिरीक्षक बज्राचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिंहको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने र नेपाल प्रहरी पूर्व प्रहरी संगठनका जिल्ला सदस्य पूर्व प्रहरी सहायक निरीक्षक गौतम पाण्डेलगायतको आतिथ्यता रहेको थियो ।
























