राष्ट्रियसभा निर्वाचनमा आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बुधबार र बिहीबार दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ। सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।

उम्मेदवारी परेका दुईजनाविरुद्ध उजुरी परेको छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेसका तर्फबाट अपांगता समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ।

भट्टविरुद्ध अपांगतासम्बन्धी प्रमाण नपुगेको भन्दै एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएका छन्। विकविरुद्ध एमालेकै उम्मेदवार हिक्मत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी हालेका छन्।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार उजुरीविरुद्ध जाँचबुझ गरी बिहीबार उमेदवारको नामावली प्रकाशन हुनेछ। शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

पुस २८ गते शनिबार बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ। आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ। बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गर्ने समय तय भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*