बागमती प्रदेशमा १ सय २० जना कुष्ठरोगका नयाँ बिरामी

हेटौडा । ७१ औं विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौं’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । नेपालमा अघिल्लो आर्थिक वर्ष २५ सय जना बढीमा कुष्ठरोग देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०७९र८० मा २५ सय २२ जनामा कुष्ठरोग पुष्टि भएको हो ।

कुष्ठरोगका नयाँ बिरामी कर्णाली प्रदेशमा सबैभन्दा कम फेला परेका छन् । सो प्रदेशमा ७३ जनामा मात्रै कुष्ठरोग पुष्टि भएको महाशाखाले जनाएको छ । देशभर फेला परेका कुष्ठरोगका नयाँ बिरामी २५ सय २२ मध्ये कर्णालीमा सबैभन्दा कम अर्थात् ३ प्रतिशत फेला परेका हुन् ।

महाशाखाका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी अर्थात् ९ सय ४४ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । फेला परेका जम्मा बिरामी संख्यामध्ये ३७ प्रतिशत मधेसमा छन् ।

यस्तै, कोशी प्रदेशमा ४ सय ७१ जना अर्थात् नयाँ फेला परेका कुष्ठ रोगका बिरामीको १९ प्रतिशत हिस्सा पाइएको छ । यस्तै, नयाँ कुष्ठरोगीमध्ये बागमती र गण्डकी प्रदेशमा पाँच÷पाँच प्रतिशत छन् । बागमती प्रदेशमा १ सय २० जना र गण्डकी प्रदेशमा १ सय १९ जना नयाँ रोगी फेला परेका हुन् । लुम्बिनी प्रदेशमा ५ सय ६५ जना नयाँ कुष्ठरोगी फेला परेका छन्, जो देशभरका नयाँ रोगीको २२ प्रतिशत हो । यस्तै, सुदूरपश्चिम प्रदेशमा २ सय ३० जना नयाँ कुष्ठरोगी फेला परेका छन् । देशभरको नयाँ कुष्ठरोगीमध्ये यो ९ प्रतिशत हिस्सा हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*