कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान बढी

काठमाडौं । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको रहने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांकका अनुसार कुल गार्हस्थमा बागमतीको योगदान ३६.४ प्रतिशत हुने अनुमान गरिएको हो।

अर्थतन्त्रको आकारमा हुने वृद्धिदरमा भने गण्डकी प्रदेश पहिलो नम्बरमा रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा मुलुकको अर्थतन्त्र आकार ३.८७ प्रतिशतले विस्तार भई करिब ५७ खर्ब ५ अर्ब हुने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षको संशोधित अनुमानबमोजिम कुल गार्हस्थ उत्पादनमा प्रादेशिक योगदान सीमान्त रूपमा मात्र परिवर्तन भएको बताइएको छ। गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिमको योगदान सीमान्त रूपमा घटेको छ भने बाँकी प्रदेशको योगदान सीमान्त रूपमा बढेको कार्यलयको रिपोर्टमा उल्लेख छ।

यसैगरी राष्ट्रिय अर्थतन्त्रमा कोशी प्रदेशको योगदान १५.८ प्रतिशत, लुम्बिनी प्रदेशको १४.३ प्रतिशत, मधेस प्रदेशको १३.१ प्रतिशत, गण्डकी प्रदेशको ९.१ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान कार्यालयको छ। कुल अर्थतन्त्रको आकारमा २० खर्ब ७४ अर्ब बागमतीको, ९ खर्ब ३ अर्ब कोशीको, ८ खर्ब १४ अर्ब लुम्बिनको, ७ खर्ब ४८ अर्ब मधेस प्रदेशको, ५ खर्ब १७ अर्ब गण्डकीको, ४ खर्ब ४ अर्ब सुदूरपश्चिमको र २ खर्ब ४४ अर्ब कर्णाली प्रदेशको योगदान हुने अनुमान कार्यलयको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*