आजबाट कोप–२९ शुरु
काठमाडौं । आजदेखि अरजरबैजानको बाकुमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) शुरु भएको छ ।
कोप सम्मेलन नोभेम्बर २२ तारिख (मङ्सिर ७ गते)सम्म चल्ने छ । नेपालका तर्फबाट उक्त कोप सम्मेलनमा भाग लिन राष्ट्रप्रमुख रामचन्द्र पौडेल आइतबार बाकु प्रस्थान गरिसक्नुभएको छ ।
राष्ट्रप्रमुख पौडेलले यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउँदै हुनुहन्छ । एक सय ९२ भन्दा बढी मुलुकहरुको राष्ट्रप्रमुखदेखि उच्च पदस्थ अधिकारीहरुका सामु उहाँले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उहाँले जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरण प्रस्तुत गर्दै हुनुहुन्छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले जलवायुजन्य परिस्थितिले सिर्जना गरेका विपद्जन्य घटनाका विभिन्न उदाहरणहरु कोपमा प्रस्तुत गरिने बताउनुभयो ।
उहाँले बेमौसमी विपद्, थामेको हिमपहिरो, विपद्जन्य घटनाहरु कोपमा प्रस्ततु गरिने बताउनभयो । साथै उहाँले यी उदाहरणहरु प्रस्तुत गर्दै जलवायुजन्य हानी नोक्सानीका लागि वित्तीय पहुँचका लागि पैरवी गर्ने पनि बताउनुभयो ।
सम्मेलनमा जलवायुको बढ्दो जोखिम घटाउन पैरवी गर्नुका साथै पर्वतीय क्षेत्रमा परेको जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अन्य जलवायुजन्य जोखिम घटाउन विश्व समुदायलाई नेपाललगायत विकासोन्मुख मुलुकहरुले दबाब दिने तयारी गरिएको छ ।