आज राष्ट्रिय योग दिवस

काठमाण्डौ । आज राष्ट्रिय योग दिवस मनाइँदैछ । योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

२०७२ साल साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरी यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो ।

यसअघि २०३६ सालदेखि उत्तरायण शुरू हुने दिन पारेर नेपालमा डा.हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा योग दिवस मनाउन थालिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औं महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा एक सय ७७ देशले समर्थन गर्ने योग दिवसले कीर्तिमान कायम गरेको छ । सन् २०१६ देखि जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*