कांग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण कार्यक्रम अन्तिम समयमा रद्द भएको छ ।

सत्तारूढ दलका नेता देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भारत भ्रमण कार्यक्रम रद्द भएको जानकारी दिए ।

छिमेकी भारत जारी महाकुम्भ मेलाको अवसर पारेर उनी बिहीबार दिउँसो भारत जाने तयारी थियो । उत्तर प्रदेश राज्यमा पर्ने प्रयागराजमा अहिले महाकुम्भ लागिरहेको छ ।

त्यही सन्दर्भमा उनी भारत जाने तयारी थियो तर त्यहाँ उच्चस्तरीय राजनीतिक भेटघाट नहुने भएपछि भ्रमण रद्द भएको हो । उनले भारतीय विदेशमन्त्री एस। जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्नका लागि कूटनीतिक पहल गरेका थिए । तर त्यो नहुने भएसँगै देउवाको भारत भ्रमण रद्द भएको हो ।

सभापति देउवालाई इन्डिया फाउन्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलिटी’ कार्यक्रममा वक्ताको रूपमा आमन्त्रण गरेको थियो । त्यही कार्यक्रममा सहभागी हुँदै उनी प्रयागराजबाट दिल्लीसमेत जाने तयारी थियो ।

इन्डिया फाउन्डेसनको आयोजनामा आगामी शुक्रबार र शनिबार आयोजना हुन गइरहेको कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने तयारी थियो । उत्तर प्रदेशका मुख्यमन्त्रीसँग मात्रै भेट हुने भएपछि देउवाको भ्रमण रद्द भएको स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*