मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मतदान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गरेकी छन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभामा रहेका मन्त्री डा देउवाले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरूलाई सो आग्रह गरेकी हुन् ।

मन्त्री डा देउवाको सम्मानमा जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा बुधबार साँझ जेनेभामा रहेका विभिन्न देशका स्थायी नियोग र विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रमुखहरूका लागि आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर नेपाललाई मत दिन आग्रह गरेकी हुन् ।

सो समारोहमा जेनेभामा रहेका एक सयभन्दा बढी देशका राष्ट्रसंघीय स्थायी नियोग प्रमुख तथा राजदूत र विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधि उपस्थित थिए।

सो समारोहलाई सम्बोधन गर्दै उनले भनिन् ‘नेपाल सरकार शान्ति, प्रजातन्त्र र मानवअधिकारको पक्षमा अडिग छ । मानवअधिकारको रक्षा र प्रवर्धनमा हामीले विगत लामो समयदेखि काम गरिरहेका छौँ । यही प्रतिबद्धताका साथ नेपालले यस परिषद्को आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएको छ । संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूलाई म नेपाललाई सहयोग गर्न आग्रह गर्दछु ।’

त्यस अवसरमा उनले नेपालले शान्ति प्रक्रियाका क्रममा पनि विश्वकै उदाहरणीय भएर काम गरेको दृष्टान्त पेस गर्दै शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई पनि छिट्टै टुङ्ग्याउने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जानकारी गराइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*