भोली देखी हेटौँडामा इ–स्पोर्टस् प्रतियोगिता हुदै
हेटौँडा । हेटौँडामा पहिलो पटक इ–स्पोर्ट्स हुने भएको छ । हेटौँडाबाट प्रसारण हुँदै आएको नेशनल गोल्ड टेलिभिजनको आयोजना तथा हेटौंडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रायोजन एवं बागमती प्रदेश खेलकुद विकास परिषदको सहकार्यमा विहिबारदेखि प्रतियोगिता सुरु हुने आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
शारीरिक मात्र नभई मानसिक र प्रविधिको खेललाई समेत प्रोत्साहन गर्ने मुल उदेश्यले यस खालको प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यक्रम संयोजक उत्सर्ग चौंलागाईका अनुसार इ–स्पोर्ट्स अन्तर्गत फ्रि फायर प्रतियोगिता हुनेछ । प्रतियोगितामा १६ वर्ष उमेर पूरा भएका व्यक्तिले मात्रै सहभागिता जनाउन पाउनेछन् ।
प्रारम्भिक चरणका खेलहरु अनलाइनमार्फत हुनेछन् भने क्वार्टरफाइनल चरणदेखिका खेल भौतिक उपस्थितिमा हेटौंडा–१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा हुनेछ । प्रतियोगिताको फाइनल खेल जेठ १७ मा हुनेछ । विजेतालाई १ लाख रुपैयाँ पुरस्कार रहेको बताइएको छ ।
पत्रकार सम्मेलनमा नेशनल गोल्ड टेलिभिजनका अध्यक्ष उज्जवल चौलागाईले अहिलेको सूचना र प्रविधिको युगमा आधारित युवापुस्ता माझ लोकप्रिय यस खालको खेल पहिलो पटक हेटौंडामा आयोजना गर्न लागिएको बताए । प्रतियोगितामा सहभागिताका लागि ३ दिनमै एक हजार सहभागीको आवेदन प्राप्त भएपछि आवेदन लिन बन्द गरिएको संयोजक उत्सर्ग चौलागाईले बताए ।
























