जिल्लास्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

हेटौँडा। हेटौँडामा पहिलो संस्करणको जिल्लास्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ । मकवानपुर
जिल्ला क्योकुशिन कराँते संघ बालकुमारी आइकेओ युनियनको आयोजनामा प्रतियोगिता यही जेष्ठ २४ गते हेटौंडा–४, पारिजातपथ स्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न हुने संघले जनाएको छ ।

संघका केन्द्रीय उपाध्यक्ष तथा जिल्लाका मुख्य प्रशिक्षक विष्णु श्रेष्ठका अनुसार, प्रतियोगिताको उद्देश्य युवा पुस्तालाई मानसिक तथा शारीरिक रुपमा सबल बनाउनुका साथै जिल्लामा खेलकुदको विकास गर्नु हो । प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा मकवानपुरको मनहरी गाउँपालिका, बागमती गाउँपालिका र थाहा नगरपालिकाबाट करिब १५० जना महिला तथा पुरुष खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ। प्रतियोगितामा महिलातर्फ ३५ केजी, ४० केजी, ४५ केजी र ५० केजी तथा पुरुषतर्फ ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी र ५० केजी तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता संघका प्रशिक्षक सुमन कर्मचार्यको संयोजनमा सञ्चालन हुने छ । प्रतियोगितामा ११ वर्षदेखि २५ वर्ष उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन्। खेलाडीका लागि खाजा तथा खानाको व्यवस्था आयोजकले गर्नेछ। प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ९४ हजार रुपैयाँको अनुमानित खर्च लाग्ने जनाइएको छ।

विजयी खेलाडीहरुलाई स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै, महिला र पुरुषतर्फका एक–एक जना उत्कृष्ट खेलाडीलाई विशेष मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

मुख्य प्रशिक्षक श्रेष्ठ र प्रशिक्षक कर्मचार्यले हाल साताको ६ दिन बिहान ६ देखि ८ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म करिब ३० जना खेलाडीलाई नियमित प्रशिक्षण दिइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*