मकवानपुरगढी गाउँपालिकाको बजेट ७४ करोड ५ लाख
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ७४ करोड ५ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँसभामा उपाध्यक्ष मानकुमारी पाख्रिनले आगामी वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार लगायत बहुआयामिक योजनाहरू सार्वजनिक गरेकी हुन् ।
कृषिमा पहिचानसहितको प्रोत्साहन
गाउँपालिकाले “कृषकहरुलाई सम्मान, वर्गीकरणसहितको कृषक पहिचान” कार्यक्रममार्फत कृषक परिचयपत्र वितरण गर्नेछ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कोदो, जुनेलो, फापर, धानकोदो, सिमी लगायतका बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको छ ।
‘पढ्दै, कमाउँदै कार्यक्रम’ लाई पनि निरन्तरता दिइने जनाइएको छ । बाझो जमिन प्रयोगमा ल्याएर उत्पादन बढाउने, “एक वडा एक उत्पादन” कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यसहित कृषकलाई आवश्यक सहयोग प्रदान गरिनेछ ।
पशुपालनमा रोग नियन्त्रणदेखि अनुदानसम्म
खोरेत, लम्पी स्किन, रेविजजस्ता रोगको नियन्त्रणका लागि पशु खोपको सुनिश्चितता गरिनेछ । पशु आहार व्यवस्थापनका लागि साइलेज उत्पादन, पशुबिमा, र दुध उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने छ ।
पशु सेवा केन्द्रमार्फत कृत्रिम गर्भाधान, दुध तथा गोबर परीक्षण, रोग पहिचानलगायत सेवा सहज र सरल रूपमा उपलब्ध गराइनेछ । घाँस खेती प्रवर्द्धन गर्दै आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिएको छ ।
पर्यटन विकासमा ऐतिहासिक सम्पदाको संरक्षण र पूर्वाधार निर्माण
ऐतिहासिक मकवानपुरगढी दरबार, मनकामना मन्दिर, सहिद रुद्र वाटिका, विजय पार्क, इच्छापुर्णेश्वर मन्दिरजस्ता सम्भावनायुक्त स्थलहरूमा पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनमा लगानी गरिने जनाइएको छ ।
शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता
प्राथमिकदेखि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य बनाउने नीति लिइएको छ । जेहेन्दार र विपन्न विद्यार्थीका लागि छात्रवृत्ति निरन्तरता, विद्यालय शिक्षामा सूचना प्रविधिको प्रयोग बढाउने तथा आवश्यक पूर्वाधार सामग्री उपलब्ध गराउने योजना छ ।
स्वास्थ्य क्षेत्रमा सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार, निःशुल्क औषधि वितरण, प्रसूति सेवा, जनचेतना कार्यक्रम सञ्चालन गरिने छ । ग्रामीण भेगका महिलाहरूलाई लक्षित गर्दै निःशुल्क अल्ट्रासाउण्ड सेवा ८ वटै वडामा घुम्ती सेवामार्फत सञ्चालन गरिनेछ। साथै, स्वास्थ्य चौकीहरूमा प्रयोगशाला विस्तार तथा उपकरण र जनशक्ति व्यवस्थापन गरिनेछ ।
सामाजिक सुरक्षा र बजेट विवरण
आगामी वर्षदेखि सामाजिक सुरक्षा भत्ता वडा तहबाटै वितरण गरिने व्यवस्था बताइएको छ । गाउँपालिकाको बजेटमध्ये चालु खर्चतर्फ ४१ करोड ७० लाख ६६ हजार र पूँजीगत खर्चतर्फ ३२ करोड ३५ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटका स्रोत र खर्चको संरचना
बजेटका स्रोतहरूमा संघीय सरकारबाट ४३ करोड ६१ लाख, प्रदेश सरकारबाट ९ करोड ४ लाख ३ हजार र आन्तरिक स्रोतबाट ४ करोड ७५ लाख रुपैयाँ संकलन हुने उल्लेख गरिएको छ ।
क्षेत्रगत रूपमा बजेट यसरी विनियोजन गरिएको छ:
सामाजिक विकास: ३८ करोड ६६ लाख ४९ हजार
पूर्वाधार विकास: १८ करोड ६० लाख
आर्थिक विकास: ५ करोड ४५ लाख
कार्यालय सञ्चालन: ९ करोड ५० लाख
संस्थागत विकास: १ करोड ३ लाख
वन, वातावरण तथा विपद् व्यवस्थापन: ८१ लाख ३५ हजार
























