हेटौँडामा आजदेखि दोस्रो संस्करणको ‘ई–स्पोर्ट्स एरिना’ सुरु

हेटौँडा । हेटौँडा सिटी कलेज र जेनिथ इन्टरनेशनल विद्यालयको संयुक्त आयोजनामा दोस्रो संस्करणको ‘ई–स्पोर्ट्स एरिना’ प्रतियोगिता आजदेखि हेटौँडामा सुरु हुने भएको छ । प्रतियोगिता सम्बन्धी जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो ।

प्रतियोगितामा फ्री फायर, पब्जी र ई–फुटबल गरी तीन विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । सहभागी खेलाडीका लागि कम्तीमा १६ वर्ष उमेर पुगेको तथा एसईई परीक्षा दिइसकेको हुनु पर्नेछ । फ्री फायरमा ३६ स्लट, पब्जीमा १२ स्लट र ई–फुटबलमा ४० स्लट निर्धारण गरिएको छ ।

पब्जी र फ्री फायरमा हरेक टोलीमा एक जना ब्याकअपसहित पाँच जना खेलाडी रहने व्यवस्था मिलाइएको छ । प्रतियोगितामा जम्मा ४८ टोलीका करिब २८० जना खेलाडीको सहभागिता रहने विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले जानकारी दिए ।

विद्यालयका प्रशासन प्रमुख सुमन्त सिलवालका अनुसार मकवानपुर जिल्लामा कलेज तहबाट पुरस्कार राशिसहितको ई–स्पोर्ट्स प्रतियोगिता पहिलोपटक आयोजना गरिएको हो । उनका अनुसार कुल ५० हजार रुपैयाँ पुरस्कार राशिको यो प्रतियोगिता नेपालमै कलेजस्तरबाट आयोजना हुने अहिलेसम्मकै सबैभन्दा ठूलो ई–स्पोर्ट्स इभेन्ट हो ।

युवापुस्तामाझ बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई सकारात्मक दिशा दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सिलवालले बताए ।

प्रतियोगितामा विजेता खेलाडी तथा टोलीहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। फ्री फायर खेलमा प्रथम हुने टोलीलाई ११ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५ हजार ५ सय रुपैयाँ र तेस्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ दिइनेछ । त्यसैगरी, उत्कृष्ट खेलाडी र फ्यान फेभरेट टिमले २ हजार–२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पब्जी खेलमा प्रथम हुने टोलीले ८ हजार ५ सय रुपैयाँ, दोस्रोले ४ हजार रुपैयाँ, तेस्रोले २ हजार रुपैयाँ र उत्कृष्ट खेलाडीले १ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

ई–फुटबल विधामा प्रथम हुनेलाई ४ हजार रुपैयाँ, दोस्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ, तेस्रो हुनेलाई १ हजार ५ सय रुपैयाँ र शीर्ष गोलकर्तालाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको फाइनल खेल साउन ८ गते सम्पन्न हुने आयोजकले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*