बागमती प्रदेशमा मुख्यमन्त्री बानियाँसहित ८ मन्त्रीले लिए शपथ

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित ८ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संविधानको धारा १६८(२) अनुसार नियुक्त भएका मुख्यमन्त्री बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट शपथ लिएपछि प्रारम्भिक मन्त्रिपरिषद् सार्वजनिक गरेका हुन् ।

शपथ लिने मन्त्रीहरूमध्ये नेपाली कांग्रेसबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङ छन् । तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अधिकारीको जिम्मेवारी अझै तोकिएको छैन । कांग्रेसले  बाँकी ५ मन्त्रालयमा मन्त्री तोक्न बाँकी रहेको छ ।

नेकपा एमालेको तर्फबाट ६ मन्त्रीले शपथसहित मन्त्रालयको जिम्मेवारी पनि पाएका छन् । एमालेका मधुसूदन पौडेललाई कृषि तथा पशुपक्षी विकास, जयराम थापालाई श्रम, रोजगार तथा यातायात, विन्दु श्रेष्ठलाई उद्योग, दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, किरण थापालाई स्वास्थ्य, र भरत केसीलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कुल १४ मन्त्रालय रहेको प्रदेश सरकारमा कांग्रेस र एमालेबीचको सत्ता साझेदारीअनुसार एमालेले ६ मन्त्रालय पाएको हो भने कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय पाउने सहमति भएको छ । कांग्रेसले बाँकी मन्त्रालयहरूमा चाँडै मन्त्री नियुक्त गर्ने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*