हेटौंडाका अन्तर्राष्ट्रिय पदक विजेता खतिवडा नगदसहित सम्मानित
हेटौंडा । अजरबैजानको बाकुमा हालै सम्पन्न अन्तर्राष्ट्रिय बुदो मार्शल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण र कास्य पदक जितेका हेटौंडा उपमहानगरपालिका–१८ का कराँते खेलाडी सुदर्शन खतिवडा नगदसहित सम्मानित भएका छन् ।
मकवानपुर क्योकुशिन कराँते संघ बालकुमारी आइकेओ युनियन हेटौंडाले मंगलबार खतिवडालाई नगद २५ हजार १ सय २५ रुपैयाँसहित सम्मान गरेका हो ।
कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले खतिवडालाई सम्मानपत्र प्रदान गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेकामा बधाई दिइन् । उनले खेलकुद क्षेत्रमा उपमहानगरपालिकाको निरन्तर साथ रहने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
खतिवडाले सन् २०२५ जुलाई २६ मा बाकुमा सम्पन्न च्याम्पियनसिपमा ८५ केजी तौल समूहमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै फुलकन्ट्रयाक्ट कराँतेमा स्वर्ण पदक तथा किक बक्सिङमा कास्य पदक प्राप्त गरेका थिए ।
कार्यक्रम मकवानपुर क्योकुशिन कराँते संघका अध्यक्ष बुद्धीनाथ न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक विष्णु श्रेष्ठ, पूर्व खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, मकवानपुर क्योकुशिन कराँतेका पहिलो ब्ल्याक बेल्ट तथा निर्माण व्यवसायी शिवनारायण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । खतिवडा मकवानपुर क्योकुशिन कराँते संघ बालकुमारी आइकेओ युनियनमा आबद्ध खेलाडी हुन् ।
























