वीरगञ्जमा हैजा समुदायस्तरमै फैलियो, ४२ जनामा पुष्टि
मकवानपुर । वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि भएको छ। शुक्रबार राति वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्ली टोलका स्थानीयहरूमा हैजाको लक्षण देखिएपछि स्वास्थ्यकर्मीको टोली तत्काल परिचालन गरिएको थियो ।
महानगरको स्वास्थ्य शाखा प्रमुख साजु साहका अनुसार शनिबारसम्म वडानम्बर ११, १३ र १६ मा समेत हैजाको संक्रमण फैलिएको छ । उनका अनुसार शनिबार साँझसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत ४२ जनामा हैजा पुष्टि भएको छ भने १२९ जना बिरामीहरू अझै उपचाररत छन् ।
साहका अनुसार मुर्ली टोलमा करिब ३० जना स्थानीयलाई झाडापखालाको लक्षण देखिएपछि उनीहरूलाई तराई अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा हैजाको आशंका भएपछि अस्पतालले वीरगञ्ज महानगरको स्वास्थ्य शाखालाई जानकारी गराएको थियो ।
लगत्तै नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा नमुना परीक्षण गरिएको थियो। परीक्षणमा तीन जनामा हैजाको जीवाणु ‘भिब्रियो कोलेरा’ पुष्टि भएको साहले जानकारी दिए । अहिले नारायणी अस्पताल, वीरगञ्ज हेल्थकेयर, तराई अस्पताल लगायतका संस्थामा झाडापखालाका बिरामीको चाप बढिरहेको उनले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार यो प्रकोप पछिल्लो १० वर्षमा जिल्लामा देखिएको पहिलो हैजा प्रकोप हो । उनका अनुसार भिब्रियो कोलेरा नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्छ ।
यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता आउने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानीको कमी हुने, मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छन् ।


























