वीरगञ्जमा हैजा फैलिँदै,१ सय १४ जनामा पुष्टि, विद्यालय थप तीन दिन बन्द

वीरगञ्ज । वीरगञ्जमा गएको शुक्रबार देखिएको हैजाको संक्रमण दिनानुदिन फैलिँदै गएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मंगलबार साँझसम्म ९३ जना झाडापखालाका बिरामी अस्पतालमा भर्ना भएका छन् । हालसम्म ११४ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ ।

हाल वीरगञ्जका विभिन्न अस्पतालहरूमा झाडापखाला र हैजा भएका १९९ जना बिरामी उपचाररत छन्। वीरगञ्ज महानगरपालिकाबाट प्राप्त विवरण अनुसार नारायणी अस्पतालमा सबैभन्दा बढी १०७ जना, तराई अस्पतालमा ३७, नेसनल मेडिकल कलेजमा १८ र वीरगञ्ज हेल्थकेयरमा १९ जना बिरामी उपचारमा छन् ।

अन्य अस्पतालहरूमा पनि बिरामीको संख्या बढेका छ । सर्वोत्तम अस्पतालमा ७, एडभान्स मेडिकेयरमा ३, प्रभु अस्पतालमा १, निलकण्ठ हस्पिटलमा २, र नारायणी सेन्टर अस्पतालमा ३ जना बिरामी रहेका छन् ।

अहिलेसम्म झाडापखाला लागेका कारण वीरगञ्जका विभिन्न अस्पतालमा ४२२ जना बिरामी भर्ना भएका छन्, जसमध्ये २२३ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १९९ जना अझै उपचाररत छन् ।

महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार नारायणी अस्पतालमा ४३, तराई अस्पतालमा ३८, र अन्य अस्पतालमा समेत हैजा पुष्टि भएका बिरामी उपचारमा छन् ।

संक्रमणको बढ्दो जोखिमका कारण महानगरपालिकाले वीरगञ्जका विद्यालयहरू थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि आइतबार र सोमबार विद्यालयहरू बन्द गरिएका थिए भने मंगलबार हरितालिका तीजको बिदा परेको थियो ।

महानगरपालिकाले हैजा फैलनुको सम्भावित कारण दूषित खानेपानी भएको आशंकामा पानीको नमुना संकलन गरी परीक्षण प्रक्रियामा पनि अघि बढेको जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*