बज्राचार्य पुनः तेक्वान्दो संघ मकवानपुरको अध्यक्षमा चयन

हेटौंडा । मकवानपुर जिल्ला तेक्वान्दो संघको सातौँ जिल्ला अधिवेशन तथा चौथो वार्षिक साधारण सभाबाट लालकाजीरत्न बज्राचार्य तेस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएका छन् । संघको शनिबार हेटौंडा उपमहानगरपालिका–४ स्थित बालकुमारी पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा बज्राचार्यको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको नयाँ कार्यसमिति पाँच वर्षे कार्यकालका लागि चयन गरिएको छ । उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा निरुकुमारी मगर १२ मत प्राप्त गरी विजयी भइन् भने उनका प्रतिस्पर्धी विमल विश्वकर्माले ६ मत प्राप्त गरे। अर्का उपाध्यक्षमा मानबहादुर वाइबा सर्वसम्मत रूपमा चयन भएका छन् ।

सचिवमा ओमबहादुर मोक्तान र कोषाध्यक्षमा रवीन्द्र पनि सर्वसम्मत रूपमा चयन भएका छन् ।

त्यसैगरी सदस्य पदमा सुरशा ढुंगाना (१७) मत, पवन अगस्ती (१४), शिवहरि राई (१८), हरि भुजेल (१४), र उमेश बुढाथोकी (६) मत प्राप्त गरी निर्वाचित भए । गोपाल सुनार, विवेक राई, माधवलाल श्रेष्ठ र पुरुषोत्तम रुपाखेती भने निर्विरोध चयन भए ।

कार्यक्रमको उद्घाटन संघका अध्यक्ष बज्राचार्यको सभाध्यक्षतामा तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उद्घाटन समारोहमा प्रदेश खेलकुद विकास परिषद्का निवर्तमान बोर्ड सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, कार्यालय प्रमुख माधव कोइरालालगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*