नेपालको ऐतिहासिक जित
काठमाडौँ । नेपालले वेस्टइन्डिजमाथि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एतिहासिक विजय हात पारेको छ । उत्कृष्ट बलिङ र फिल्डिङपछि नेपालले शनिबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दुईपटकको विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको हो ।
यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४८ रन बनाएको थियो । जवाफमा वेस्टइन्डिजले ९ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सक्यो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी को पूर्ण मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो विजय हो । नेपाललाई यस विजयले लगत्तै वेस्टइन्डिजमा सुरु हुने ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ठूलो हौसला दिनेछ ।
























