रेबिजविरुद्धको खोप अभियान सञ्चालन
हेटौँडा । विश्व रेबिज दिवस २०२५ को अवसरमा जिल्ला पशु सेवा कार्यालय मकवानपुरले रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम असोज ६ गतेदेखि सुरु भई असोज १२ गतेसम्म सञ्चालन हुनेछ ।
पशु सेवा कार्यालयले स्थानीय तहका पशु सेवा शाखाको समन्वयमा सामुदायिक कुकुरहरूलाई लक्षित गरी खोप अभियान अघि बढाएको हो । कार्यालय प्रमुख डा. बज्र किशोर ठाकुरका अनुसार हाल दैनिक २० देखि ३० वटा कुकुरलाई खोप दिइँदैछ ।
खोप कार्यका लागि कार्यालयबाट खटिएको तीन सदस्यीय टोलीले स्थानीय तहका प्राविधिकहरूसँग सहकार्य गर्दै खोप कार्य सञ्चालन गरिरहेको जानकारी उनले दिए ।
“समुदायमा रहेका कुकुरलाई नियन्त्रणमा ल्याई रेबिजविरुद्धको खोप लगाउने कार्य भइरहेको छ,” ठाकुरले बताए, “रेबिज लागेका कुकुर वा जङ्गली जनावरले मानिस वा अन्य पशुपंक्षीलाई टोक्दा निको हुने सम्भावना अत्यन्त न्यून भएकाले सावधानी आवश्यक छ ।”
उनका अनुसार रेबिज भएका जनावरको टोकाइ, चपाइ वा र्याल लागेमा संक्रमण सर्न सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला पशु सेवा कार्यालयका तथ्याङ्क अनुसार, गत वर्ष मकवानपुर जिल्लामा रेबिज संक्रमित कुकुरको टोकाइबाट तीन जनाको मृत्यु भएको थियो । तीमध्ये दुई जना थाहा नगरपालिका र एक जना मकवानपुरगढी गाउँपालिकाका बासिन्दा रहेको जनाइएको छ । ती सबैको काठमाडौँस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओ का अनुसार मानवमा देखिने करिब ९९ प्रतिशत रेबिज संक्रमण कुकुरको टोकाइबाट हुने गरेको छ । नेपाल सरकारले सन् २०३० सम्ममा रेबिजका कारण हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य लिएको छ ।
























