नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित

काठमाडौँ । ब्याटिङमा चुस्त नदेखिए पनि नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा विजयी सुरुआत गरेको छ । ओमानमा बुधबारबाट सुरु प्रतियोगितामा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो ।

मस्कट स्थित अल एमेरट क्रिकेट मैदानमा १ सय ४२ रनको लक्ष्य लिएर मैदान उत्रिएको कुवेत १८.१ ओभरमा ८३ रनमै अलआउट भयो । नेपालबाट कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २–२ विकेट लिए । रोहितले २ ओभरमा ९, ललितले ४ ओभरमा १७ र सन्दीपले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चे । सोमपाल कामी, नन्दन यादव र कुशल भूर्तेलले १–१ विकेट लिए ।

ओपनर क्लिन्टो एन्टोले कुवेतबाट सर्वाधिक २६ रन बनाए । २३ बल खेली २ छक्का प्रहार गरेका उनलाई दीपेन्द्रसिंह ऐरीले आफ्नै बलिङमा सानदार रनआउट गरे । सोमपालले अर्का ओपनर रविजा सन्दरुवानलाई पहिलो ओभरमै आउट गरी नेपाललाई सानदार सुरुआत दिलाएका थिए ।

नेपाल अब शुक्रबार जापानविरुद्ध दोश्रो खेल खेल्नेछ। नौ टिम सहभागी प्रतियोगिताबाट सुपर–६ हुँदै शीर्ष तीन टिमले भारत–श्रीलंकामा हुने २०२६ टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*