कैलाश गाउँपालिकामा एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम सम्पन्न
मकवानपुर . कैलाश गाउँपालिकाका कक्षा १ देखि ३ मा अध्यापन गराउने शिक्षकलाई लक्षित गरी आयोजित एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम सम्पन्न भएको छ। पाँच दिनसम्म सञ्चालन भएको तालिम शुक्रबारबाट सुरु भएको थियो।
कैलाश–९ स्थित कालिका माध्यमिक विद्यालयमा आयोजित तालिमको समापन वडा अध्यक्ष भूवनसिंह घलानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा गरिएको थियो । समापन कार्यक्रममा सहभागी शिक्षकलाई प्रमाणपत्र प्रदान गर्दै अध्यक्ष मुक्तानले तालिमबाट सिकेका सीप तथा ज्ञानलाई विद्यालय र विद्यार्थीमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए । उनले समय–समयमा शिक्षकलाई ज्ञान र सीप अभिवृद्धि गराउन सके शिक्षाको समग्र गुणस्तरमा सुधार आउने बताए ।
“सिकिएको सीप र ज्ञान व्यवहारमा उतार्नुस्, तब मात्र विद्यार्थी र शिक्षक दुवैको व्यवहार तथा उपलब्धिमा सुधार आउँछ,” अध्यक्ष मुक्तानले भने । उनले तालिमलाई ‘उर्जा’का रूपमा व्याख्या गर्दै तालिमपछि विद्यालयमा फर्किएर सिकेको प्रयोग गर्न आग्रह गरे । शिक्षा नीतिमा देखिएका केही समस्या समयक्रममा समाधान हुँदै जाने पनि उनले उल्लेख गरे ।
वडा अध्यक्ष घलानले सिकेका सीपलाई अधिकतम रूपमा कार्यान्वयन गर्न शिक्षकलाई आग्रह गरे। अनुगमनका क्रममा सिकाइको प्रभाव देखिन नसकिएको जनाउँदै प्रतिकूल अवस्थामासमेत अनुकूल भएर काम गर्नुपर्नेमा उनले जोड दिए। विद्यार्थीको भविष्य शिक्षकको हातमा रहेको उल्लेख गर्दै उनले तालिमबाट उपलब्ध सीप विद्यालयमा प्रतिफलका रूपमा देखिनुपर्ने बताए।
गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समिर जोशीले तालिमपछि विद्यालयमा त्यसको प्रत्यक्ष कार्यान्वयन हुनुपर्ने बताए। विद्यार्थीले पनि परिवर्तन महसुस गर्न सक्नेगरी ज्ञान र सीप व्यवहारमा देखिनुपर्नेमा उनले जोड दिए। समापनमा शिक्षक अनिल धमला र धनकुमारी जोशीले तालिम अनुभव सुनाउँदै सिकेका सीप उपलब्धिमूलक रहेको र विद्यालयमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।
तालिममा गाउँपालिकाका ६ वटा माध्यमिक, ४ वटा निम्न माध्यमिक र ३३ वटा प्राथमिक तहका शिक्षकको सहभागिता रहेको सहायक विद्यालय निरीक्षक दीपेन्द्र अधिकारीले जानकारी दिए। तालिम सहजीकरण सविता अधिकारी, विवसजङ्ग थापा र सरस्वती अधिकारीले गरेका थिए। कार्यक्रममा कालिका माविका प्रधानाध्यापक रामप्रसाद कालाखेती, सहायक निरीक्षक दीपेन्द्र अधिकारी, स्रोत शिक्षक ध्रुवराज विष्टलगायतको सहभागिता थियो ।
























