बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन
मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको नयाँ प्रशासनिक भवन बुधबार उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नवनिर्मित भवनको उद्घाटन गर्दै यसलाई गाउँपालिकाको समृद्धि र विकासमा महत्त्वपूर्ण कदम भएको बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले उद्घाटन समारोहमा सम्बोधन गर्दै लोकतान्त्रिक व्यवस्थाको महत्त्व र यसले नागरिकलाई प्रदान गरेको अधिकारका बारेमा प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो, लोकतन्त्रले नागरिकलाई केवल सही प्रतिनिधि छान्ने अधिकार मात्र दिएको छैन, यदि कुनै नागरिकलाई मन नलागे पार्टी वा उम्मेदवार परिवर्तन गर्ने स्वतन्त्रता पनि प्रदान गरेको छ। उहाँले यसलाई लोकतन्त्रको वास्तविक आत्मा र बलियो आधार मान्नु भएको छ ।
मुख्यमन्त्री बानियाँले लोकतान्त्रिक व्यवस्थाले देशको भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउनका लागि समावेशी संरचनाको महत्त्वलाई समेत जोड दिनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्र र समावेशी संरचनाले देशका विभिन्न भूगोल, समुदाय र वर्गलाई न्याय दिने अवसर दिएको छ, जुन धेरै वर्षको संघर्ष र मेहनतको परिणाम हो।”
उहाँले केही असन्तुष्ट समूहहरूको आलोचनालाई सम्बोधन गर्दै “गाउँमा विकास पुगेको छ, बाटो(पुल बनेका छन्, सुविधा पुगेको छ, तर केही मानिसहरू यस व्यवस्थालाई उल्ट्याउने सोचमा छन्। यस्ता व्यवस्थाहरू दीर्घकालीन हुँदैनन् । समयसँगै तिनीहरूलाई परिवर्तनको स्वीकार गर्नै पर्छ।”
मुख्यमन्त्री बानियाँले लोकतान्त्रिक व्यवस्थामा सुधारका लागि आवश्यक कदम चाल्न सकिने र गल्ती गरेका व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले गाउँपालिकाको विकासमा भएका प्रयासहरूको चर्चा गर्दै कृषि र शिक्षा क्षेत्रमा गरिएको लगानीको महत्त्व पनि उजागर गर्नुभयो । बकैया गाउँपालिकामा अन्य स्थानीय तहसँग तुलना गर्दा हामीले पूर्वाधारका क्षेत्रमा कमै होइन, धेरै सुधार गरेका र गाउँका नागरिकहरूको जीवनस्तर सुधार्नका लागि धेरै अवसरहरू सिर्जना गरेका अध्यक्ष लामिछानेले बताउनुभयो ।
अध्यक्ष लामिछानेले गाउँका नागरिकहरूको आर्थिक सुधारमा कृषि क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। पहिले गाउँमा बच्चा पढाउन गाह्रो र घर चलाउन कठिन जस्ता समस्याहरू थिए, तर अहिले गाउँपालिकाले कृषि, पशुपालन र नयाँ स्रोतबाट आम्दानीका अवसरहरू सिर्जना गरेको छ, उनले थपे । यसले गाउँको आर्थिक स्थितिमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै,अब धेरै युवाहरू विदेश जानुको सट्टा, गाई पालनजस्ता कृषि गतिविधिहरूमा लगानी गर्दै छन्।
बकैया गाउँपालिका वडा नं ३, हात्तीसुढेमा स्थित नयाँ प्रशासनिक भवन चारतले रहेको छ । यसअघि, बकैया गाउँपालिकाको कार्यालय ट्रष्टको भवनमा रहेको थियो। नयाँ भवनमा अध्यक्ष र उपाध्यक्षका कार्यकक्ष, २८ वटा कार्यालय कोठा, सभा हल, बैठक कक्ष, सेवाग्राही कक्ष, पार्किङ, शौचालय, भान्छा र स्टोर कक्ष जस्ता सुविधा समावेश छन् ।
सङ्घीय सरकार र स्थानीय सरकार बीचको साझेदारीमा ६० प्रतिशत र ४० प्रतिशत बजेटमा नवनिर्मित भवनको लागत सात करोड ९५ लाख ६७ हजार ९१७ रुपैयाँ पुगेको छ । यस भवन निर्माण परियोजना २०७९ सालको जेठ ३१ गते सम्झौता भएको थियो, तर निर्धारित समयसीमाभित्र निर्माण सम्पन्न नभएपछि म्याद थप गरिएको थियो। अन्ततः २०८१ असार १५ गते भवनको निर्माण पूरा भएको हो।
उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, निवर्तमान अध्यक्ष, उपाध्यक्ष लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी र स्थानीय व्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।
























