बकैया ५ र ६ जोड्ने पक्की पुल निर्माण हुने

मकवानपुर । बकैया गाउँपालिका–५ र ६ जोड्ने कर्मचुली–जुइना सुकौरा खोलामा निर्माण हुने पक्की पुलको शिलान्यास बुधबार एक विशेष समारोहका बीच गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पुलको शिलान्यास गर्दै निर्माण कम्पनीलाई कार्य सम्पन्न गर्न तोकिएको समयमा काम सक्न निर्देशन दिनुभयो। मुख्यमन्त्री बानियाँले संघीय व्यवस्थाले गरिबलाई समृद्धि तर्फको मार्ग खोल्ने अवसर दिएको उल्लेख गर्दै विकासका कार्यहरूलाई तीव्रता दिइएको बताउनुभयो। उनले प्रदेशलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने आफ्नो प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

शिलान्यास समारोहमा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले विशेष परिस्थितिमा बजेटको विनियोजनपछि पुल निर्माण कार्य थालिएको जानकारी दिनुभयो । उहाँले आर्थिक र सामाजिक रुपान्तरणका लागि यस किसिमका पूर्वाधारको महत्त्वलाई औंल्याउँदै पुल निर्माण समयमै पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

बागमती प्रदेश सरकारद्वारा ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँको लागतमा १२० मिटर लामो पक्की पुल निर्माण गर्न लागेको हो । प्रारम्भिक लागत अनुमान भने ८ करोड २४ लाख ६८ हजार ९८५ रुपैयाँ थियो। श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले २०८२ असार ८ गते पुल निर्माणको ठेक्का ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँमा सम्झौतासँगै लिएको हो । निर्माण कार्य २०८४ असार ७ गतेभित्र सम्पन्न गर्नु पर्नेछ ।

पुल निर्माणपछि करिब ८०० घरधुरी लाभान्वित हुनेछन्। पुल नहुँदा बकैया–६ का विद्यार्थीहरू वर्षायाममा विद्यालय आउजाऊ गर्नमा कठिनाइ भोग्दै आएका थिए। नयाँ पुलले स्थानीय किसान, विद्यार्थीहरू, तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय पर्यटन पार्क तर्फ जाने यात्रुहरूको आवागमन सहज बनाउने विश्वास व्यक्त गरिएको छ ।

शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, पूर्व अध्यक्ष दामोदर खनाल, निवर्तमान उपाध्यक्ष सरला बोलखे लगायतका विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र स्थानीयवासीहरूको सहभागिता थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*