हेटौँडामा सडक विस्तारका लागि रेखांकन कार्य सुरु
हेटौँडा । हेटौँडा बजार क्षेत्रको लामो समयदेखि रोकिँदै आएको सडक विस्तार कार्य मंसिर २० गतेबाट सुरु हुने भएको छ । सडक बिस्तार कार्यलाई अगाडी बढाउनका लागि बुधबार गठन गरिएको विशेष टास्क टिमले कार्य प्रारम्भ गरेको छ । यसका साथै सडक अतिक्रमण गरी निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन बिहीबारबाट रेखांकन र रङ लगाउने काम सुरु गरेको छ ।
टास्क टिमले हेटौँडा उपमहानगरपालिका– १५, रातोमाटेबाट रोखांकन कार्य सुरु गरेको हो । यसअघि सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते जारी गरेको १५ दिने सूचना यही मंसिर १९ गते सकिँदै छ । सो अवधि भित्र संरचना नहटाए मंसिर २० गते बिहानैदेखि डोजर परिचालन गरी सडक विस्तार अघि बढाइने डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चार विभिन्न स्थानबाट एकैपटक डोजर चलाइने तयारी रहेको छ । सडक विस्तारलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले विशेष ‘टास्क फोर्स’ गठन गरेको थियो । सडक डिभिजन कार्यालयका इन्जिनियर यादव सुवेदी संयोजक रहेको उक्त समितिमा हेटौँडा
उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायतका प्रतिनिधिहरू समावेश छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सडक विस्तारका क्रममा विद्युत्, खानेपानी, टेलिफोनलगायत अत्यावश्यक सेवामा अवरोध नआओस् भनेर सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो ।
हेटौंडा प्रदेश राजधानी भएकाले सुन्दर, सुरक्षित र व्यवस्थित सहरका रूपमा विकास गर्न सडक विस्तार अपरिहार्य रहेको बताउँदै उहाँले एसियाली विकास बैंक एडिबीबाट आवश्यक बजेट सुनिश्चित भइसकेकाले यसपटक काम रोकिने कुनै अवस्था नरहेको स्पष्ट पार्नुभयो ।
सडक डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्मको सडक खण्डमा सडकको मध्यभागबाट दायाँ–बायाँ २५/२५ गज क्षेत्रभित्र पर्ने स्थायी–अस्थायी संरचना १५ दिनभित्र हटाउन आग्रह गरेको छ ।
























