सहिद स्मारक प्रिमियर लिग सिजन-१ का लागि अक्सन सम्पन्न

हेटौँडा । वागेश्वरी टोल विकास संस्थाको आयोजनामा हेटौँडा–११ मा मंसिर २० गतेदेखि सुरु हुने सहिद स्मारक प्रिमियर लिग सिजन-१ का लागि खेलाडी अक्सन शनिबार सम्पन्न भएको छ ।

वागेश्वरी टोल विकास संस्थाका खेल संयोजक सुदिप श्रेष्ठको अध्यक्षतामा सम्पन्न अक्सनमा गोल्फिन्टार किङ्स, बागथली वारीयर्स, नवलपुर टाइटन्स र थानाभर्याङ म्याव्रिक्स गरी चार क्लबसँगै हेटौँडा एकेडेमी आमन्त्रित क्लबका रूपमा सहभागी रहेको आयोजकले जानकारी दिएको छ ।

चारै क्लबले रु २५ हजारको सीमाभित्र रहेर मार्की प्लेयरसहित १४ खेलाडी अनुबन्धन गरेका छन् । आयोजकका अनुसार हेटौँडा एकेडेमीले भने अक्सनमा सहभागी नभई आफ्ना नौ खेलाडी कायम राखेको छ । साथै अक्सनमा अनसोल्ड रहेका वडाबाहिरका पाँच खेलाडी एकेडेमीलाई ग्रेडअनुसार प्रदान गरिने व्यवस्था गरिएको छ ।

मार्की खेलाडीको रूपमा गोल्फिन्टार किङ्सले नविन शर्मा, बागथली वारीयर्सले मन्दिप श्रेष्ठ, नवलपुर टाइटन्सले असिम श्रेष्ठ, थानाभर्याङ म्याव्रिक्सले विपुल खनाल तथा हेटौँडा एकेडेमीले विकास पटेललाई यसअघि नै चयन गरिसकेको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वागेश्वरी टोल विकास संस्थाकी अध्यक्ष उर्मिला आचार्यले स्थानीय स्तरमा खेलकुदको विकास र खेलाडीको प्रबर्द्धनका उद्देश्यले सुरु गरिएको लिगमा वडावासीको सक्रिय सहभागिताले उत्साह प्रदान गरेको बताइन् । उनले लिगलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएकी छन ।

अक्सनमा वडाभित्रका ४२ तथा जिल्लाभित्रका वडाबाहिरका ४४ गरी कुल ८६ खेलाडी सहभागी भएको आयोजक सदस्य सञ्जय बिडारीले बताए । खेलाडीहरूलाई ए,बी,सी  गरी तीन ग्रेडमा वर्गीकृत गरिएको र ग्रेडअनुसार मूल्य निर्धारण गरिएको पनि उनले जानकारी दिए ।

सहिद स्मारक प्रिमियर लिग मंसिर २० गतेदेखि २७ गतेसम्म हेटौँडा–११ स्थित हेटौँडा एकेडेमीको खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*