चिसो बढेसँगै फ्लु बाट बच्न आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा फ्लु बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै फ्लु सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।
जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लु लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा इन्फ्लुएन्जा भाइरस सङ्क्रमणको सम्भावना बढी हुने गरेको बताए ।
उनका अनुसार फ्लु भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक नपर्ने हुन्छ । तर दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने हुन्छ ।
























