सेलले ततायो हेटौंडा, बजारमा थामिनसक्नु भीड

हेटौंडा । सडक सीमाभित्र पर्ने घर टहरा हटाई हेटौंडा बजार क्षेत्रमा सडक विस्तारको तयारीसँगै व्यवसायीहरूले धमाधम ‘सेल’ घोषणा गरेपछि पूरै बजार तातेको छ। सामान सस्तोमा पाइने सूचना पछि सीमाचोकदेखि राप्तिरोडसम्मको बजार क्षेत्रमा उपभोक्ताको भीड बढेको छ ।

फर्निचर, रेडिमेड कपडा, जुत्ता,चप्पल, ब्याग,इलेक्ट्रोनिक्सदेखि भाँडाकुँडासम्मका सामानमा विशेष छुट घोषणा गरिँदै ‘सेल’ अफर राखिएको छ। दैनिक मूल्यभन्दा निकै सस्तोमा सामान पाइने भएपछि सर्वसाधारण बिहानदेखि रातीसम्म भीड लिएर बजार धाइरहेका छन् ।

व्यवसायीहरूले सडक विस्तार अघि स्टक खाली गर्नुपर्ने बाध्यता छ भन्दै मूल्य घटाएर बिक्री गर्न थालेका हुन्। कतिपयले सडक पेटीमै टेबल राखेर सामान बिक्री गरिरहेका छन्, हाते माइक लिएर सस्तोमा पाइन्छ भन्दै ग्राहक बोलाइरहेका छन्।

भीड बढेसँगै बुद्धचोक र राप्तिरोड क्षेत्रमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। सडकको दुवै किनार उपभोक्ताले भरिएपछि साना सवारी संचालनमा समेत कठिनाइ भएको छ।

सडक डिभिजन हेटौंडाले २० मंसिरदेखि बजार क्षेत्रमा सवारी आवागमन रोक्दै राजमार्ग विस्तारको काम सुरु गर्ने तयारी गरेको छ । डिभिजनका अनुसार रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुल र बुद्धचोकदेखि सामरी पुलसम्म गरी ५३१ वटा संरचना भत्काउनुपर्नेछ। महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ जोड्ने करिब ८.५ किलोमिटर सडक चौडा पारिने योजना छ।

यता घरधनी र व्यवसायीहरूले भने उचित मुआब्जा तथा क्षतिपूर्ति माग गर्दै विभिन्न विरोध कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर सडक विस्तार सूचनाको समय नजिकिँदै जाँदा व्यवसायीहरू आफ्नो स्टक  चाँडो बेच्नतिर व्यस्त देखिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*