हेटौँडाको सडक विस्तार कार्य स्थगित

हेटौंडा । सडक डिभिजन कार्यालय हेटौँडाले बजारको मुख्य सडक विस्तारका लागि घरसंरचना हटाउने काम तत्कालका लागि स्थगित गरेको छ । सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण स्थगित गरेको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले तत्कालका लागि घर–टहरा भत्काउने काम रोक्न अस्ति शुक्रवार नै अल्पकालीन आदेश जारी गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय मकवानपुर र सडक डिभिजन कार्यालयले आधिकारिक रूपमा आदेश प्राप्त नभएको भन्दै शनिबार बिहानै डोजर चलाएर घर–टहरा भत्काएका थिए ।

सडक डिभिजन कार्यालयले आइतबार भने सर्वोच्च अदालतको पत्र प्राप्त भएको भन्दै भत्काउने काम रोकेको हो । ‘सडक सीमा संरक्षण अभियानको क्रममा प्रकाशित सूचनाका विरुद्ध केही सरोकारवालाहरूबाट सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन पेसभई सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२/०८/१९ मा जारी उत्प्रेषण आदेश मिति २०८२/०८/२१ गते, दिनको १२ः४६ मा म्याद तामेल भएकोले सम्मानित अदालतको आदेशलाई सम्मान गर्दै सूचनामा उल्लेख गरिएका कार्यहरू हाललाई स्थगन गरिएको डिभिजन प्रमुख  अधिकारीले बताए । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी हुने वा नहुने भन्नेबारेमा छलफलका लागि मङ्सिर २६ गतेको पेशी तोकेको छ ।

यसैबीच हेटौँडा उपमहानगरपालिकाले सडक विस्तारका क्रममा भत्काएका घर बनाउन सहुलियतपूर्ण ब्याजका लागि पहल गर्ने निर्णय गरेको छ । उपमहानगरको आज बसेको ७६ औं कार्यपालिका बैठकले भत्किाएका घर बनाउन सहुलियतपूर्ण ब्याजको ऋणका लागि अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यस्तै सडक विस्तारका क्रममा प्रभावित भइ व्यवसायको निरन्तरता हुन नसकेका व्यवसायीको लगत लिइ व्यवसाय शुरू नहुँदासम्म व्यवसाय कर छुट दिनका लागि नगरसभासमक्ष पेश गर्ने निर्णय पनि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*