हेटौंडा–३ लेवटमा मगरजात्रा सम्पन्न

हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नं–३ स्थित लेवटमा मगरजात्रा धूमधामसँग सम्पन्न भएको छ । परापूर्व कालदेखि मगर समुदायले यस क्षेत्रमा जात्रा गर्दै आएका छन ।

सरस्वती भैरव बाबा गुठी समितिका अनुसार, हरेक वर्षको विजयादशमीको टीकाको दिन,धान्ने पूर्णिमाको दिन र त्यसको भोलिपल्ट यो जात्रा मनाउने परम्परा छ तर यो बर्ष यस समुदायमा अशौंच पर्न गएकोले मंसिर पञ्चमी र त्यसको भोलिपल्ट गरि २ दिन जात्रा मनाइएको हो । जात्रामा सरस्वती गुरु र भैरव बाबाको पूजा, बलि र मारुनी नाचको विशेष महत्त्व छ । यसका साथै ख्याली गीत, मगर समुदायको सांस्कृतिक परम्परा र परिकल्पनासहित विभिन्न झाँकी पनि प्रस्तुत गरिन्छ ।

गुठी समितिका अध्यक्ष रामबहादुर थापा मगरका अनुसार जात्रामा मगर राज्यको परिकल्पनासहित राजारानी,सुसारे, सिपाही, वैद्य, डाक्टर, सरसफाई कर्मचारी लगायतका पात्रहरूको झाँकीको प्रदर्शन गरिएको थियो । साथै, जात्रामा मादल, झ्याली, चाप जस्ता बाजा बजाएर मारुनी नृत्य नाच्ने परम्परालाई निरन्तरता दिइएको थियो ।

मारुनी नृत्यमा पुरुषहरूले महिलाको पहिरनमा कम्तीमा तीन जना वा सो भन्दा बढी समूहमा नाच्ने परम्परा रहेको छ । जात्रामा सालको लात्रा प्रयोग गरी गुरु थान निर्माण गरी भित्र सरस्वती गुरु र भैरव बाबाको पूजा गरिने पुजारी खड्गबहादुर थापाले बताए । जात्रामा स्थानीयवासी र दर्शनार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*