श्रीवैष्णव युवा परिषद् मकवानपुरको नवौं वार्षिक साधारणसभा सम्पन्न
हेटौंडा । श्रीवैष्णव युवा परिषद् मकवानपुरको नवौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । श्रीवैष्णव युवा परिषद् मकवानपुरका अध्यक्ष दुर्गा प्रसाद न्यौपानेको सभाध्यक्षता तथा श्रीवैष्णव युवा परिषद् नेपाल बागमती प्रदेश संयोजक स्वामी रामानुजाचार्यको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि स्वामी रामानुजाचार्यबाट पानसमा दीप प्रज्वलन गरी भाष्यकार श्रीरामानुजाचार्य स्वामीजीको विग्रहमा माल्यार्पणसहित गरिएको थियो । संस्थाका उपाध्यक्ष हयगृव न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
साधारणसभामा विशिष्ट अतिथिका रूपमा स्वामी चतुर्भुजाचार्य हेटौंडा, स्वामी ऋषिप्रपन्नाचार्य तिलपुङ, सिन्धुली, श्रीवैष्णव युवा परिषद् नेपालका केन्द्रीय कोषाध्यक्ष सीता खनाललगायतको उपस्थिति रहेको थियो। साथै श्रीवैष्णव परिषद् जिल्ला अध्यक्ष दासरथि भण्डारी, महिला परिषद् जिल्ला अध्यक्ष सुभद्रा आचार्य, युवा परिषद् केन्द्रीय सदस्य सीता भेटवाल, युवा परिषद् मकवानपुरका संस्थापक सचिव हयगृव आचार्य, जिल्ला समिति पदाधिकारी, सदस्य तथा भक्तभागवतहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कोषाध्यक्ष अयोध्या कुमार भट्टराईले आर्थिक प्रतिवेदन तथा अध्यक्ष दुर्गा प्रसाद न्यौपानेले प्रगति विवरण र आगामी कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका छन् । कार्यक्रम सञ्चालन परिषद्सका सचिव यदुनाथ सुवेदीले गर्नुभएको थियो।
























