प्रधानमन्त्री र प्रमुख दलका नेताबीच चुनाव सफल बनाउन छलफल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताहरूबीच फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउने समझदारी बनेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच निर्वाचनकेन्द्रित छलफल भएको हो ।
प्रधानमन्त्री कार्की र तीन दलका प्रमुख नेताबीच पहिलो पटक कुराकानी भएको हो । मंगलबारको छलफलमा सरकार र तीन दलबीच चुनाव सफल बनाउने समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले दाबी गरे ।
पोखरेलका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।
























